|
682 SHARES |
बिर्तामोड । बिर्तामोड नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको हो।
नगरपालिकाले आन्तरिक स्रोत, संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदानलाई आयका मुख्य स्रोतका रूपमा राखेको छ। बेरुजु असुलीबाट प्राप्त हुने ७ लाख रुपैयाँलाई समेत आयमा समेटिएको छ।
प्रस्तावित बजेटमध्ये पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरिएको छ। प्रशासनिक खर्चका लागि २४ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, खेलकुद तथा वडास्तरीय कार्यक्रमका लागि ९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकासअन्तर्गत कृषि, पशुपालन, उद्यम विकास, रोजगारी, सीपमूलक तालिम तथा पर्यटन प्रवर्द्धनका लागि ३ करोड ८१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
त्यसैगरी वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा ३ करोड १८ लाख, स्वास्थ्यका लागि १ करोड, कृषि विकासका लागि १ करोड ६ लाख तथा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप तथा रोजगारी प्रवर्द्धनका लागि ७१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। सहकारी प्रवर्द्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सीमित स्रोत–साधनका बाबजुद बजेट कार्यान्वयन प्रभावकारी रहेको बताउँदै आन्तरिक आम्दानी अपेक्षाअनुसार बढ्न नसक्नु, संघीय अनुदानमा निर्भरता तथा निर्माण सामग्रीको मूल्यवृद्धिलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र भौतिक पूर्वाधारका क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको दाबी गर्नुभयो। बैठकमा विषयगत समितिका संयोजकहरूले आफ्नो क्षेत्रका उपलब्धि, समस्या र चुनौती समेटिएका प्रतिवेदन नगर प्रमुखसमक्ष प्रस्तुत गरेका थिए।









