|
738 SHARES |
काठमाडौं। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्र मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले ललितपुरस्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।
उजुरीअनुसार जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादको विषयमा भारतीय दूतावासअगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तले पक्राउ गरेको थियो।
निवेदकहरूको दाबीअनुसार पक्राउ परेको करिब आधा घण्टापछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरी गालीगलौज गर्दै चरम मानसिक दबाब दिएको तथा ज्यान मार्ने धम्कीसमेत दिएको थियो। उनीहरूले यसलाई कानुनविपरीत थुनुवालाई आतंकित पार्ने कार्य भएको बताएका छन्।
उनीहरूले प्रहरी प्रशासनको मिलेमतो वा कमजोरीका कारण संवेदनशील क्षेत्रमै यस्तो घटना भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसँग घटनाको निष्पक्ष छानबिन गर्न विशेष टोली खटाउन माग गरेका छन्। साथै, सोह्रखुट्टे प्रहरी वृत्तको सीसीटीभी फुटेज तथा आगन्तुक अभिलेख नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग पनि गरिएको छ।
उजुरीमा पद र शक्तिको दुरुपयोग गर्दै हिरासतभित्र मानसिक यातना दिएको आरोपमा गृहमन्त्री तथा संलग्न टोलीमाथि फौजदारी मुद्दा चलाउन र अनधिकृत प्रवेश गराउन सहयोग गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्नसमेत माग गरिएको छ।









