|
733 SHARES |
झापा । वर्षायाम सुरु भएसँगै झापामा पानीमा डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा पाँच जनाको डुबेर मृत्यु भएको छ।
दुई दिनअघि कन्काई–८ स्थित बिरिङ खोलाको पानीमा डुबेर कन्काई नगरपालिका–१ निवासी कुलबहादुर रसाइलीकी ५ वर्षीया छोरी सोनिया रसाइलीको मृत्यु भएको थियो।
यसअघि असार ४ गते दिउँसो मेचीनगर नगरपालिका–७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर स्थानीय ६० वर्षीय गणेश बस्नेतको ज्यान गएको थियो। त्यही दिनको अघिल्लो राति गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोल निवासी ६० वर्षीय रबि सोरेन आफ्नै घरदेखि करिब ५० मिटर दक्षिणतर्फ रहेको सडकको नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए।
यस्तै, गत जेठ ३ गते गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा डुबेर ६० वर्षीय बाबुराम हस्दाको मृत्यु भएको थियो। त्यसअघि वैशाख ३० गते भद्रपुर नगरपालिका–८ दुखाबस्तीमा घरछेउको पैनीमा डुबेर ३५ वर्षीय बुद्धिम किस्कुको ज्यान गएको थियो।
वर्षायामसँगै खोलानाला, पैनी, नाली तथा विभिन्न स्थानमा जमेको पानीमा डुबेर हुने घटनामा वृद्धि हुने गरेको छ। झापामा हरेक वर्ष यस्ता घटनाबाट धेरैले ज्यान गुमाउने गरेका छन्। सरोकारवाला निकायले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।









