|
695 SHARES |
बिर्तामोड । झापाको बिर्तामोड बसपार्क नजिक रहेको एक घर भासिँदै जाँदा जोखिम बढेको छ। स्थानीय पहलमान ठाकुरले निर्माण गरेको तीनतले पक्की घर गएराति करिब साढे १ बजेतिर एक्कासी एकातर्फ कोल्टिएर भासिएपछि हाल अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको हो।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–५ सुकुम्बासी लाइन निवासी पहलमान ठाकुरको घर सुगम पैनीमा आएको पानीको बहावले जग खोतलिँदा कोल्टिएको हो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
यद्यपि घरधनी ठाकुरले भने चट्याङका कारण घरको पिलरमा क्षति पुगेपछि घर कोल्टिएको दाबी गरेका छन्। घर भासिएपछि बिहानदेखि नै यसको अवस्था थप जटिल बन्दै गएको छ। तल्लो तलामा रहेका केही सामानहरू प्रहरीको निगरानीमा घरधनी तथा स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। तर माथिल्लो तलामा हालसम्म कसैलाई पनि प्रवेश गर्न दिइएको छैन।
स्थानीयका अनुसार बिहानको तुलनामा घर निरन्तर दबिँदै गएको छ। घरको पछाडिपट्टि रहेको पैनीको पर्खालमा घर अडिएको जस्तो देखिएको छ। उक्त पर्खालमा चिरा परेमा घर पूर्ण रूपमा क्षतिग्रस्त हुन सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ।
घरको अवस्थालाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका र प्रशासनले सर्वसाधारणलाई घरभित्र प्रवेश नगर्न आग्रह गरेका छन्। बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईंका अनुसार घरमा ताला लगाएर रातभर सोही अवस्थामा छाडिने र सोमबारसम्म अवस्था स्थिर रहेमा माथिल्लो तलामा रहेका सामान निकाल्न सहजीकरण गरिनेछ।
घर दुर्घटनाग्रस्त अवस्थामा पुगेपछि आइतबार बिहानैदेखि उक्त घर हेर्न आउने सर्वसाधारणको भीड लागेको छ।
घरधनी पहलमान ठाकुरका अनुसार उक्त घर २०६५ सालमा निर्माण गरिएको थियो। हाल घर थप भासिने सम्भावना रहेकाले आसपासका बासिन्दालाई समेत सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।









