झापा, असार ३ । झापाको दमकमा टिपरको ठक्करबाट एक जना पूर्व शिक्षकको मृत्यु भएको छ।
आज बिहान ९ः५५ बजे दमक–९ स्थित निम्स अस्पताल अगाडिको पूर्व–पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको मे ११ प १६२० नम्बरको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटी चालक दमक–५, ज्येष्ठ नागरिक टोल निवासी अन्दाजी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको, दाहिने हात तथा अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। उपचारका लागि दमक अस्पताल पुर्याइएका कार्कीलाई चिकित्सकले अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।
स्कुटीको पछाडि सवार गौरीगञ्ज–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका छन्। मृतक कार्की झापाको तत्कालीन महाभारा गाविसस्थित जनकल्याण आधारभूत विद्यालयका निवृत्त शिक्षक हुन्।
दुर्घटनापछि फरार भएका टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोजतलासका क्रममा दिउँसो १२ः३० बजे प्र.१–०२–००१ क ४२८५ नम्बरको टिपर र चालक गौरादह–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हाल टिपर र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









