बाहुनडाँगीवासीले जंगली हात्तीको त्रासबाट कहिले मुक्ति पाउने ? : सांसद निशा डाँगी



709 SHARES

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगी ले झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आतंकबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद डाँगीले दशकौँदेखि जारी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिन्।

उनले आइतबार बिहान मेचीनगर–४ बाहुनडाँगीमा आफ्नै घरबाहिर फूल टिप्ने क्रममा ६२ वर्षीय पद्म पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्। साथै, सोमबार बिहान मात्रै मेचीनगर–१ का किसानहरूको करिब तीन बिघा क्षेत्रफलमा लगाइएको मकैबाली हात्तीले नष्ट गरेको जानकारी पनि सदनलाई गराइन्।

विज्ञापन

‘बाहुनडाँगीवासीका लागि हात्तीको त्रास नयाँ विषय होइन। यो समस्या विगत ३५–४० वर्षदेखि निरन्तर रहँदै आएको छ। त्यहाँका नागरिक बिहान खेतबारी जाँदा, साँझ घर फर्कँदा र राति सुत्दासमेत हात्तीको आक्रमणमा पर्ने हो कि भन्ने त्रासमा बाँच्न बाध्य छन्,’ सांसद डाँगीले भनिन्।

उनका अनुसार हरेक साँझ भारततर्फबाट ४० देखि ५० वटासम्म जंगली हात्ती नेपाल प्रवेश गर्ने र रातभरि बस्ती तथा खेतीबालीमा क्षति पुर्‍याएर बिहान पुनः भारत फर्किने गरेका छन्।

हात्तीको आक्रमणबाट मानवीय क्षति मात्रै नभई किसानले वर्षभरि मेहनत गरेर उत्पादन गरेका धान, मकै, सुपारीलगायतका बाली तथा घरगोठसमेत नष्ट हुने गरेको उल्लेख गर्दै उनले किसानहरूको महिनौँको परिश्रम क्षणभरमै समाप्त हुने अवस्था रहेको बताइन्।

यति ठूलो समस्या लामो समयदेखि दोहोरिँदै आए पनि बाहुनडाँगीवासीले राज्यको प्रभावकारी उपस्थिति र स्थायी समाधानको अनुभूति गर्न नपाएको भन्दै सांसद डाँगीले सरकारसँग तत्काल प्रभावकारी पहल गर्न माग गरिन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय