|
686 SHARES |
काठमाडौँ । आगामी भदौ ७ गतेदेखि पोखराबाट दुबईसम्म नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्सको फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडान सञ्चालनका लागि अनुमति प्रदान गरिसकेको छ।
फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ विमानमार्फत पोखरा–दुबई सेवा सञ्चालन गर्नेछ। निर्धारित तालिकाअनुसार विमान साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने साँझ ७ः१५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गर्नेछ। यात्राको अवधि करिब पाँच घण्टाको रहने प्राधिकरणले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रारम्भिक चरणमा फ्लाइ दुबईले एक महिनाका लागि मात्र उडान अनुमति लिएको छ। सो अवधिमा यात्रु चाप तथा सेवा सञ्चालनको अवस्थाको मूल्याङ्कन गर्दै थप अवधि र उडान संख्या विस्तारबारे निर्णय गरिने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेकाले यसले पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार तथा विदेशमा रहेका नेपाली नागरिकको आवागमनलाई थप सहज बनाउने विश्वास गरिएको छ।









