शिवसताक्षीमा विद्यालय समायोजनकाे असर : विद्यालय खाली, शिक्षकहरूमा अन्योलता



707 SHARES

शिवसताक्षी, जेठ २६ । शिवसताक्षी नगरपालिका–४ स्थित जनता बजारको एक चिया पसलमा मंगलबार मध्यान्ह केही सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय समयमै भेटिए। कारण सोध्दा उनीहरूको जवाफ थियो, “हाम्रो त विद्यालय सकियो नि।”

नगरपालिकाले न्यून विद्यार्थी भएका विद्यालयहरूको तह घटाउने तथा केही विद्यालयलाई नजिकका विद्यालयसँग समायोजन गर्ने निर्णय गरेसँगै प्रभावित विद्यालयहरू विद्यार्थीविहीन बनेका छन्। यसका कारण शिक्षक तथा कर्मचारीहरू भने कार्यविहीन जस्तै अवस्थामा पुगेका छन्।


नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार वडा नम्बर ४ काे कन्काई आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय समायोजन प्रक्रियामा परेका छन्। सूचना सार्वजनिक भएसँगै नयाँ विद्यार्थी भर्ना लगभग रोकिएको छ भने अध्ययनरत विद्यार्थीहरू पनि अन्य विद्यालयतर्फ स्थानान्तरण भएका छन्।

विज्ञापन

कन्काई आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब ४१ विद्यार्थी थिए। समायोजनको सूचना आएपछि उनीहरू मञ्जुश्री आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, जनआदर्श माध्यमिक विद्यालय तथा स्थानीय अश्विन अङ्ग्रेजी बोर्डिङ स्कुलमा भर्ना भएका छन्।

त्यस्तै जनता आधारभूत विद्यालयका विद्यार्थीहरू पाथिभरा आधारभूत विद्यालय, मञ्जुश्री आधारभूत विद्यालय र कञ्चनजङ्गा अङ्ग्रेजी बोर्डिङ स्कुलतर्फ गएको विद्यालय स्रोतले जनाएको छ।

विद्यार्थीहरू अन्यत्र गएपछि विद्यालयमा शिक्षक र कर्मचारीहरू मात्र उपस्थित हुने अवस्था सिर्जना भएको छ। कन्काई आधारभूत विद्यालयका प्रधानाध्यापक सोम गुरागाईंले शिक्षक समायोजन प्रक्रिया अघि नबढेको तर विद्यार्थी समायोजन भने पूरा भइसकेको बताए।

“शिक्षक छौँ, विद्यार्थी छैनन्। अब के गर्ने भन्ने अन्योलमा छौँ,” उनले भने।

जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक गीता भट्टराईका अनुसार नगरपालिकाबाट अहिलेसम्म शिक्षक तथा कर्मचारीका लागि कुनै स्पष्ट जिम्मेवारी तोकिएको छैन।

“विद्यार्थीको व्यवस्थापन भयो, हाम्रो व्यवस्थापन भएन। अहिले हामी हाजिरी गरेर बस्ने मात्र अवस्थामा छौँ,” उनले भनिन्।

दुवै विद्यालयका करिब आठ जना शिक्षक, बाल विकास सहजकर्ता तथा कर्मचारी कार्यविहीन अवस्थामा रहेका छन्। स्थानीयका अनुसार उनीहरू विद्यालयमा हाजिर भएर काम नहुँदा खाली बस्ने वा चिया पसलमा समय बिताउने गरेका छन्।

यता अभिभावकहरूले विद्यालय समायोजनको निर्णयले आफूहरूलाई आर्थिक तथा शैक्षिक रूपमा असर परेको बताएका छन्। नजिकको सरकारी विद्यालय बन्दजस्तै भएपछि कतिपय अभिभावक आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न बाध्य भएका छन्।

एक अभिभावकले भने, “सरकारलाई खर्च घटेको होला, तर हामीलाई ठूलो समस्या भयो। निजी विद्यालय नै विकल्प बन्न थालेको छ। यसले दीर्घकालमा विद्यार्थी विद्यालय छाड्ने जोखिमसमेत बढाउन सक्छ।”

नगरपालिकाले भने न्यून विद्यार्थी भएका विद्यालयहरूको व्यवस्थापन सुधार तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले समायोजन र तह घटाउने नीति अघि सारेको जनाएको छ। तर स्थानीय तहमा शिक्षक व्यवस्थापनभन्दा अघि विद्यार्थी समायोजन गरिएको भन्दै आलोचना बढ्न थालेको छ।

हालसम्म प्रभावित विद्यालयका शिक्षक तथा कर्मचारीको पुनः व्यवस्थापनबारे स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन। स्थानीयवासी तथा सरोकारवालाहरूले शिक्षक व्यवस्थापन, वैकल्पिक जिम्मेवारी तथा शैक्षिक निरन्तरता सुनिश्चित गर्न नगरपालिकासँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय