काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भारतका विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा हुने तीनदिने भ्रमण आजदेखि सुरु भई आइतबारसम्म चल्नेछ।
यसअघि शनिबारदेखि हुने भनिएको भ्रमणको तालिका एक दिनअघि सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा औपचारिक वार्ता हुनेछ।
वार्तामा नेपाल–भारत व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुने बताइएको छ। भ्रमणलाई नेपाल–भारतबीचको नियमित उच्चस्तरीय कूटनीतिक आदानप्रदानको निरन्तरताका रूपमा हेरिएको छ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने भने भारतको पाँचदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री खनालको यो भ्रमण वर्तमान सरकार गठनपछि भारतसँगको उच्चस्तरीय सरकारी सम्पर्कका रूपमा महत्वपूर्ण मानिएको छ।









