|
696 SHARES |
काठमाडौं । भन्सार छली गरी नेपाल भित्राइएको आशंकामा सशस्त्र प्रहरी बलले चीनको तिब्बतसँग जोडिएको मुस्ताङको कोरोला नाकाबाट आएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले गएराति विशेष अभियान सञ्चालन गरी मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार भन्सार प्रक्रिया पूरा नगरी वा राजस्व छलेर गाडीहरू नेपाल भित्र्याइएको विशेष सूचनाका आधारमा कारबाही अघि बढाइएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनहरूको कागजात, भन्सार प्रक्रिया तथा राजस्व सम्बन्धी विवरणको जाँच भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइने बताइएको छ।
यो पछिल्लो कारबाहीलाई विद्युतीय सवारीसाधन आयातमा हुने सम्भावित राजस्व छलि नियन्त्रणका लागि गरिएको ठूलो अभियानका रूपमा हेरिएको छ।









