|
707 SHARES |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण सम्पन्न भएपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने तयारी भएको छ। यद्यपि भ्रमणको मिति भने अझै तय भएको छैन।
परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार भ्रमणको मितिबारे काठमाडौंस्थित भारतीय दूतावासमार्फत छलफल भइरहेको छ। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा चासोका विषयमा विस्तृत छलफल हुने बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रवि लामिछानेबीच नयाँदिल्लीमा भएको भेटवार्तामा जलविद्युत्, विमानस्थल, सीमा व्यवस्थापन तथा दुई देशबीचका अन्य महत्वपूर्ण विषयमा प्राथमिकताका आधारमा सूची तयार गरी काम अघि बढाउने विषयमा सहमति भएको बताइएको छ।
रास्वपाका सांसद दीपक बोहोराका अनुसार भारतीय पक्षले नेपालसँग सम्बन्धित महत्वपूर्ण विषयहरूको सूची तयार गरी समयसीमा निर्धारण गरेर काम गर्न सकिने धारणा राखेको छ। उनले नेपालसँगका विभिन्न विषयलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणका क्रममा रवि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा अन्य राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गरेका थिए। उनी जेठ २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
रवि लामिछानेको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण हुने र त्यसपछि दुई देशबीचका विभिन्न विषयमा सरकारी तहमा थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।









