|
9,000 SHARES |
काठमाडौं । नेपाल दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनल पुग्ने अवसरबाट वञ्चित भएको छ। भारतको पण्डित जवाहरलाल नेहरू स्टेडियम मा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
योसँगै नेपाल १० वर्षपछि पहिलोपटक साफ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ। यसअघि नेपाल सन् २०१६ मा भारतसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो।
खेलमा नेपालले २३औँ मिनेटमा गीता रानाको गोलमार्फत अग्रता बनाएको थियो। दीपा शाहीको कर्नरमा आएको बल बंगलादेशकी गोलरक्षकले पूर्ण रूपमा क्लिअर गर्न नसक्दा अनमार्क रहेकी गीताले सहजै जाली चुमाएकी थिइन्। जारी प्रतियोगितामा यो उनको दोस्रो गोल हो।
तर नेपालले अग्रता जोगाउन सकेन। पहिलो हाफको इन्जुरी समयमा ऋतु पोर्णा चक्माले कर्नरबाट सिधै गरेको प्रहार गोलमा परिणत भएपछि बंगलादेश खेलमा फर्किएको थियो। गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले बललाई बचाउने प्रयास गरे पनि बल टपबारमा ठोक्किएर जालीभित्र पुगेको थियो।

बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयकै तेस्रो मिनेटमा मोसम्मत सागोरिकाले निर्णायक गोल गर्दै बंगलादेशलाई फाइनलमा पुर्याइन्। नेपाली डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै शमसुन्नहरको क्रसमा सागोरिकाले गोल गरेकी थिइन्।
यस जितसँगै बंगलादेश लगातार तेस्रोपटक उपाधि जित्ने अभियानमा अघि बढेको छ। यसअघि २०२२ र २०२४ मा काठमाडौंस्थित दशरथ रंगशाला मा भएको प्रतियोगिताको फाइनलमा पनि बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो।










