|
9,000 SHARES |
झापा । झापाको मेचीनगरमा विद्यालय बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः२० बजे मेचीनगर नगरपालिका–९ स्थित गोमनसरी सिमेन्ट फ्याक्ट्री नजिक भित्री पक्की सडकखण्डमा सतिघट्टाबाट इट्टाभट्टातर्फ आउँदै गरेको होलिबेल बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे ९ प ९००४ नम्बरको २०० सिसी एनएस मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ निवासी २५ वर्षीय अजय राजवंशी र मोटरसाइकलको पछाडि सवार भारतको किशनगञ्ज गलगलिया निवासी ३३ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले साँझ ५ः५० बजे मृत घोषणा गरेका थिए।
मृतक दुवैको शव प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक मेचीनगर–११ निवासी ४२ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। बस तथा मोटरसाइकल दुवै इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेका छन्।
प्रहरीका अनुसार बस चालकको सवारी चालक अनुमति पत्र रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










