|
9,000 SHARES |
बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा ग्रीन इनर्जी एण्ड मोविलिटी प्रालिले टिभिएसको नयाँ विद्युतीय तीन पाङ्गे सवारी ‘किङ्ग एभी म्याक्स’ बजारमा ल्याएको छ ।
पूर्वाञ्चलका लागि आधिकारिक विक्रेताको जिम्मेवारी पाएको कम्पनीले शुक्रबार विशेष कार्यक्रम आयोजना गर्दै सवारी सार्वजनिक गरेको हो । कार्यक्रममा नेपालका लागि टिभिएस तीन पाङ्गे सवारीको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिको सहकार्य रहेको थियो ।
सवारी अनावरण कार्यक्रममा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियार, सहारा नेपाल साकोस का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ का अध्यक्ष एकराज गिरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई सहभागी हुनुभएको थियो ।
कार्यक्रमकै अवसरमा पाँच जनाले सवारी बुकिङ गरेका छन् भने तीन जना ग्राहकलाई सवारी हस्तान्तरण गरिएको कम्पनीका म्यानेजर नविन गिरीले जानकारी दिनुभयो ।
कम्पनीका बिजनेस हेड हरि न्यौपाने का अनुसार व्यवसायिक प्रयोगलाई लक्षित गर्दै सवारीमा आधुनिक प्रविधि र कम खर्चिलो सञ्चालन प्रणाली समावेश गरिएको छ । कम्पनीले सवारीमा ६ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
११ किलोवाट क्षमताको मोटर जडान गरिएको उक्त सवारीमा इको, सिटी र पावर गरी तीन मोड राखिएको छ । पूर्ण चार्ज हुन करिब साढे ३ घण्टा लाग्ने र २ घण्टा १५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
हाल ‘प्रिस्टिन ह्वाइट’ र ‘नेप्च्युन ब्लु’ रंगमा उपलब्ध सवारीको मूल्य ८ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीले आगामी दिनमा अन्य रंगसमेत बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।
सञ्चारकर्मी सुनिता तामाङले संचालन गर्नुभएको कार्यक्रममा सहभागी वक्ताहरूले विद्युतीय सवारी वातावरणमैत्री, मितव्ययी तथा दीगो यातायातका लागि उपयुक्त विकल्प बन्दै गएको धारणा राखेका थिए ।










