अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज उच्चस्तरीय शिखर वार्ता हुँदै



9,000 SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार चीन भ्रमणमा पुगेपछि विश्वका दुई शक्तिशाली राष्ट्रबीच उच्चस्तरीय वार्ताको तयारी सुरु भएको छ ।

राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने दुईदिने शिखर वार्तामा व्यापार विवाद, कृत्रिम बुद्धिमत्ता, पश्चिम एशियामा जारी युद्ध तथा ताइवानको सुरक्षा मुख्य कार्यसूचीका रूपमा रहेका छन् ।

विज्ञापन

बेइजिङ विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको थियो । यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ ।

विज्ञापन

राष्ट्रपति ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका छन् । भ्रमण टोलीमा इलन मस्क, जेन्सन ह्वाङ र टिम कुक लगायत सहभागी रहेका छन् ।

अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । दुई देशबीचको व्यापार सन् २०२२ मा ६ सय ९० अर्ब अमेरिकी डलर पुगेकोमा गएको वर्ष घटेर करिब ४ सय १५ अर्ब डलरमा सीमित भएको छ । ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ भने चीनले अमेरिकी अर्धचालक तथा उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको बताइएको छ ।

शिखर वार्तामा इरान–इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चिनियाँ अर्थतन्त्रमा दबाब परेको बताइएको छ । अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ ।

वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो । अमेरिकी संसद्ले गएको वर्ष ताइवानलाई १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेइजिङ असन्तुष्ट रहेको छ ।

राष्ट्रपति ट्रम्प शुक्रबार चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ । विश्लेषकहरूले यस भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय