|
9,000 SHARES |
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दाजुभाइको हत्या गरी खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा शव फेला परेको हो।
एक व्यक्तिले गएराति प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलबारे जानकारी दिएपछि प्रहरी टोलीले खोजतलास गरेको थियो। खोजीका क्रममा दुवै जनाको शव खोलामा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
“आर्थिक लेनदेनसम्बन्धी विवादका कारण हत्या गरेर आफू फरार भएको भन्ने सूचना प्राप्त भएको थियो,” प्रनाउ लामाले भने, “हाल ती व्यक्तिको खोजी भइरहेको छ। पक्राउपछि घटनाको विस्तृत विवरण खुल्नेछ।”
आफूले हत्या गरेको स्वीकार गर्दै जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ।
परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाइ मङ्गलवार बिहान कुलो निर्माण गर्न जाने भन्दै घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए।
घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि आज साँझ घटनास्थलबाट त्रिशूली अस्पतालतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
+1
+1
+1
4










