|
9,000 SHARES |
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० मा टोल विकास संस्थामा आबद्ध महिलालाई लक्षित एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
नारी सञ्चार गृह झापा को आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित कार्यक्रममा वडा अन्तर्गत रहेका २७ वटा टोल विकास संस्थाका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कविता बास्तोला ले महिलाका कानुनी अधिकार, घरेलु हिंसा, लैंगिक समानता, सम्पत्ति अधिकार तथा विभिन्न कानुनी प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। सहभागी महिलाहरूले दैनिक जीवनमा उपयोगी जानकारी प्राप्त भएको भन्दै कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य को अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू दीपिका शिवा र धनमाया श्रेष्ठ, संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा निवर्तमान अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव दीपा पोखरेल ले गर्नुभएको थियो।










