शान्ति सामुदायिक वनका उपभोक्तालाई मौरी वितरण, मानव–हात्ती द्वन्द न्यूनीकरणमा सहयोग



9,000 SHARES

झापा । अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वनले उपभोक्ताहरूलाई मौरीसहितको घार वितरण गरेको छ। मानव–हात्ती द्वन्द न्यूनीकरण गर्ने उद्देश्यसहित सामुदायिक वनले ३० घरधुरीलाई मौरीसहितको घार उपलब्ध गराएको हो।

अर्जुनधारा नगरपालिकाको मानव–हात्ती द्वन्द न्यूनीकरण समितिसँगको लागत साझेदारी र उपभोक्ताहरूको लागत सहभागितामा करिब ३ लाख रुपैयाँ बराबरका ३० वटा मौरीसहितका घार वितरण गरिएको शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिए।

विज्ञापन

उनका अनुसार कार्यक्रमले स्थानीय उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउनुका साथै हात्ती प्रभावित क्षेत्रमा मानव–हात्ती द्वन्द कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन

सामुदायिक वनकी उपाध्यक्ष लक्ष्मी कन्दङवाका अनुसार मानव–हात्ती द्वन्द न्यूनीकरण समितिको ५० प्रतिशत, सामुदायिक वनको २५ प्रतिशत र उपभोक्ताहरूको २५ प्रतिशत लागत सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

उपभोक्ताहरूलाई समेत अपनत्व गराउन तथा जिम्मेवारीबोध बढाउन २५ प्रतिशत लागत सहभागिता गराइएको कन्दङवाले बताइन्। आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक वनले मौरी पालनलाई थप प्रोत्साहन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरिन्।

मानव–हात्ती द्वन्द न्यूनीकरण समिति अर्जुनधाराका सचिव धनबहादुर तामाङले मौरी रहेको क्षेत्रमा हात्तीको आउजाउ कम हुने भएकाले हात्ती प्रभावित स्थानहरूमा मौरी पालनलाई प्राथमिकता दिइएको बताए। उनले मौरी पालनले हात्तीको आतंक कम गर्नुका साथै स्थानीयलाई अतिरिक्त आयआर्जनको स्रोत पनि प्रदान गर्ने उल्लेख गरे।

मौरी पालनबाट मह, मैन, प्रोपोलिस लगायतका उत्पादन प्राप्त हुने र त्यसको बिक्रीबाट राम्रो आम्दानी लिन सकिने उनले बताए। साथै मौरीले फूलमा परागसेचन गरी कृषि उत्पादन वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई वातावरणीय र आर्थिक दुवै हिसाबले लाभदायी मानिएको छ।

घार वितरण गर्नुअघि उपभोक्ताहरूलाई सामुदायिक वन परिसरमा मौरीपालन सम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरिएको थियो। यो कार्यक्रमबाट अर्जुनधारा–२ का राते, खुदुनाबारी लगायतका क्षेत्रका उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कार्यक्रममा अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, वडा सदस्य प्रेम उपरकोटी लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमलाई लिला भण्डारीले सहजिकरण गरेका थिए । स्थानीयवासीले मौरी पालनलाई आयआर्जनको प्रभावकारी माध्यमका रूपमा लिँदै मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्न महत्वपूर्ण कदम भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय