|
9,000 SHARES |
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ विरुद्ध उठेका आरोपलाई लिएर जेनजी मुभमेन्ट नेपालले कडा प्रतिक्रिया जनाएको छ। मुभमेन्टले मन्त्री गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गरेर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग दोहोर्याएको छ।
२०८३ वैशाख ६ गते जारी प्रेस वक्तव्यमा मुभमेन्टले गृहमन्त्रीमाथि लागेको आरोपलाई ‘स्पष्ट कन्फ्लिक्ट अफ इन्टरेस्ट’ को रूपमा व्याख्या गरेको छ। मन्त्रीकै पदमा बसेर आफ्नै विषयमा छानबिन हुनु न्याय प्रणालीमाथिको गम्भीर प्रश्न भएको उल्लेख गर्दै यसलाई नैतिकता र कानुनी सिद्धान्तविपरीत कार्य भनिएको छ।
वक्तव्यमा वर्तमान सरकारप्रति पनि प्रश्न उठाउँदै नेतृत्वले पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ। “राजनीतिक वा नैतिक निर्णयभन्दा माथि उठेर जिम्मेवार नेतृत्वले स्पष्ट कदम चाल्नुपर्छ,” वक्तव्यमा भनिएको छ।
मुभमेन्टले वर्तमान सरकार जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक व्यवस्थाको प्रतिनिधि भएको स्मरण गराउँदै जनभावनाअनुसार शासन सञ्चालन गर्न आग्रह गरेको छ। अन्यथा, जनता मौन नबस्ने चेतावनी पनि दिएको छ।
प्रवक्ता विजय शाह द्वारा हस्ताक्षरित वक्तव्यमा न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा जोड दिइएको छ। दोषी जो–कोही भए पनि पद, शक्ति वा राजनीतिक सम्बन्धका आधारमा उन्मुक्ति दिन नहुने स्पष्ट पारिएको छ।
मुभमेन्टले अन्त्यमा सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दै ढिलाइले जनविश्वास कमजोर बनाउने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पर्ने चेतावनी दिएको छ।










