|
9,000 SHARES |
एजेन्सी
काठमाडौं । पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सञ्चालन भइरहेको अमेरिकी सैन्य अपरेशन दुईदेखि तीन हप्ताभित्र समाप्त गर्ने घोषणा गरेका छन्।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले इरानसँग वार्ता र सैन्य कारबाही समानान्तर रूपमा अघि बढिरहेको बताए। इन्धनको बढ्दो मूल्यबारे सोधिएको प्रश्नमा उनले अमेरिका इरानबाट बाहिरिएपछि स्थिति सुधार हुने र तेलको मूल्य घट्न सक्ने दाबी गरे।
ट्रम्पका अनुसार अमेरिकाले आफ्नो लक्ष्य लगभग पूरा गरिसकेको छ र करिब दुई हप्ताभित्र अपरेशन सकाएर सेना फिर्ता बोलाइनेछ। अमेरिकी सेना फर्किएपछि अमेरिकी कम्पनीहरूलाई ठूलो खतरा नरहने भन्दै उनले इरानले साँच्चिकै हमला गर्ने हो कि भन्नेमा प्रश्न उठाए।
उनले इरानसँग परमाणु हतियार नभएको र त्यस्तो क्षमता तत्काल प्रयोग गर्न नसक्ने बताए। साथै, त्यहाँका पुराना नेताहरूको प्रभाव घटिसकेको र वर्तमान नेतृत्व पहिलेभन्दा कम कट्टर र वार्तामा तयार रहेको उनको भनाइ थियो।
ट्रम्पले इरानसँग सम्झौता अनिवार्य नभएको उल्लेख गर्दै अमेरिकाको मुख्य उद्देश्य उसले लामो समयसम्म परमाणु हतियार विकास गर्न नसकोस् भन्ने रहेको स्पष्ट पारे। उनले चेतावनी दिँदै भविष्यमा इरानले फेरि परमाणु हतियार बनाउने प्रयास गरेमा अमेरिका पुनः कडा कदम चाल्ने बताए।










