|
9,000 SHARES |
प्रधानमन्त्री सुशीला कार्की ले जेनजी आन्दोलनसहित तीनवटा महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छिन्।
प्रधानमन्त्री कार्कीको निर्णयअनुसार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गरिने भएको हो।
भदौ २३ र २४ का घटनाबारे तयार पारिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी औपचारिक रूपमा सार्वजनिक गर्ने निर्णय बुधबार गरिएको हो। यद्यपि सो प्रतिवेदन यसअघि नै केही सञ्चारमाध्यममार्फत बाहिर आइसकेको छ।
यसअघि नै प्रधानमन्त्रीले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि संसद सचिवालयमार्फत अभिलेखीकरण गरी सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।
त्यसैगरी, गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ। उक्त मार्गचित्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्।










