|
9,000 SHARES |
ताप्लेजुङ । जिल्लाका विभिन्न स्थानमा शनिवार र आइतवार आएको हावाहुरी तथा असिनासहितको वर्षाले सिदिङवा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
हावाहुरीका कारण सिदिङवा गाउँपालिका क्षेत्रमा १४ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ वटा घरमा आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ।
पूर्ण रूपमा क्षति भएका घरहरूमा सुरुमखिम, लिम्बुदिन, कालिखोला र सिदिङवा–६ मेहेले क्षेत्रका देउबहादुर लिम्बू, जीवन इम्बुङ, रोमन इम्बुङ, टीका राई, रामकुमार लिम्बू, योगेश वेघा, हरी वेघा, सुस्मिता राई वेघा, चन्द्र वेघा, मनकुमार सोताङ, केशरमान श्रेष्ठ, सन्जिप राई, याम लिङदेन तथा जंगबहादुर पन्दाक–दिलमाया पन्दाकको घर रहेका छन्।
त्यस्तै मनकुमार तामाङ, युवराज तामाङ, राजकुमार लिङदेन, धनबहादुर बानियाँ, शेरबहादुर बानियाँ, खड्ग गौतम, कुमार गौतम तथा मुकुभन्ज्याङ धर्मशालामा आंशिक क्षति पुगेको नवनिर्वाचित सांसद क्षितिज थेवेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

पीडितहरूको राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाइएको छ।
चैत्र–वैशाख महिनामा हावाहुरी, असिना तथा डढेलोको जोखिम बढी हुने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। विपद्को कठिन घडीमा पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सबै सरोकारवाला निकाय, संघ–संस्था तथा सहयोगी मनहरूलाई सहयोग गर्न अपिल गरिएको छ।










