|
9,000 SHARES |
झापा । शनिश्चरे फुटबल क्लब ले ८ देखि १३ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्ने भएको छ। आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका सल्लाहकार तथा प्रतियोगिता संयोजक टेकराज तिलिङ ले तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमबारे जानकारी दिएका हुन्।
प्रशिक्षण अर्जुनधारा खेलमैदान मा सञ्चालन हुनेछ। पालिकाभित्रका इच्छुक बालबालिकाले सहभागिता जनाउन सक्नेछन् भने सहभागीबाट न्यूनतम शुल्क लिइने बताइएको छ।
क्लबले विगत तीन वर्षदेखि वडास्तर हुँदै जिल्लास्तरीय अन्तरपालिका यू–१८ फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताबाट छनोट भएका अर्जुनधारा नगरपालिका का खेलाडीलाई क्लबले निःशुल्क फुटबल प्रशिक्षणसमेत प्रदान गर्दै आएको छ।
यसैबीच, गत माघ ११ देखि १९ गतेसम्म सञ्चालन भएको झापा जिल्ला अन्तरपालिका यू–१८ नकआउट फुटबल प्रतियोगिता बाट क्लबले पाँच लाखभन्दा बढी रकम बचत गरेको जनाएको छ। सार्वजनिक प्रतिवेदनअनुसार प्रतियोगिताबाट १५ लाख ८२ हजार २३४ रुपैयाँ आम्दानी भएकोमा १० लाख ७७ हजार ९१० रुपैयाँ खर्च भई पाँच लाख ४ हजार ३२४ रुपैयाँ बचत भएको हो।
क्लबले खेलाडीको वृत्ति विकासका लागि स्थापना गरेको अक्षयकोषमा यस वर्षको बचतबाट एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरेको छ। क्लबका सचिव हरि गुरुङ का अनुसार यसअघि कोषमा एक लाख ५५ हजार रुपैयाँ रहेको थियो।
क्लबले सामाजिक समस्याका रूपमा देखिएको लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत लिएको जनाएको छ।
कार्यक्रम बलदेवसिंह गोम्देन तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा वडाध्यक्ष कुमारप्रसाद उप्रेती, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, भगिरथ आले ‘मामा’ तथा मिलन बस्नेत लगायतले धारणा राखेका थिए।










