|
9,000 SHARES |
खुदुनाबारी । अर्जुनधारा–२ स्थित सचेत युवा समूहले अर्जुनधारा–३ निवासी याम गुरुङको उपचारका लागि रु. १ लाख ३३ हजार ३ सय २५ सहयोग रकम हस्तान्तरण गरेको छ।
मुटु तथा फोक्सोसम्बन्धी गम्भीर स्वास्थ्य समस्याका कारण उपचाररत विपन्न परिवारका गुरुङलाई विभिन्न दाताबाट संकलन भएको उक्त रकम सोमबार हस्तान्तरण गरिएको हो। समूहका अध्यक्ष राजा साँवा लिम्बूका अनुसार सोमबार दोस्रो चरणमा रु. १ लाख १८ हजार ३ सय २५ हस्तान्तरण गरिएको हो। यसअघि पहिलो चरणमा समूहले गुरुङको उपचारका लागि रु. १५ हजार नगद सहयोग प्रदान गरेको थियो।
आर्थिक अवस्था कमजोर रहेका गुरुङ, जो ‘लुते काइला’ उपनामले चिनिन्छन्, अर्जुनधारा–३ को गरुवा चोक नजिक बसोबास गर्दै आएका छन्। उनको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।
सचेत युवा समूहले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको छ। अध्यक्ष लिम्बूका अनुसार हस्तान्तरणपछि पनि गुरुङको उपचारका लागि रु. २० हजारभन्दा बढी रकम थप संकलन भइसकेको छ, जुन तेस्रो चरणमा हस्तान्तरण गरिनेछ।
गुरुङको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले समूहले सहयोगदाताहरूलाई थप सहयोगका लागि अपिल समेत गरेको छ।
सचेत युवा समूह साविकको खुदुनाबारी क्षेत्रमा सक्रिय सामाजिक संस्थाका रूपमा विभिन्न सामाजिक कार्यमा निरन्तर क्रियाशील रहँदै आएको छ।










