|
9,000 SHARES |
झापा । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको झापा बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरीले सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
माघ ९ गते सरस्वती पूजाको दिन अक्षरारम्भ कार्यक्रम आयोजना गरिने र सो अवसरमा नानीबाबुहरूलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिनुभयो। उहाँले यस अवसरमा आफ्ना नानीबाबुहरूको अक्षरारम्भ गराउँदै निःशुल्क भर्नाको अवसर लिन अभिभावकहरूलाई आग्रह गर्नुभयो। विद्यालयका अनुसार यो सुविधा माघ महिनाको पहिलो हप्तादेखि अन्तिम हप्तासम्म लागू हुनेछ।
सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विषयगत शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् भन्ने जानकारी विद्यालयका सञ्चालक सरोज पौडेलले दिनुभयो।
पौडेलका अनुसार विद्यालयले प्रत्येक महिना अभिभावकसँग ‘चियागफ’ कार्यक्रम सञ्चालन गर्दै अभिभावकका सुझाव र गुनासो सुन्ने तथा शैक्षिक गुणस्तरका विषयमा छलफल गर्दै बालमैत्री वातावरण निर्माण गर्दै आएको छ। खेलमैदान, बाल उद्यान तथा विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरू चाडपर्वका समयमा समेत घर नगई रमाइलो वातावरणमा सहभागी हुने गरेको उहाँले बताउनुभयो।
सुनौलो एक हजार दिन बालबालिकाको उमेर समूह अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै पौडेलले बालबालिकाको आत्मबल र मनोविज्ञान विकासका लागि विभिन्न कार्यक्रममा मन्त्री, सांसद, मेयर, वडाध्यक्षजस्ता विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट गराई उत्प्रेरणा प्रदान गरिने गरिएको जानकारी दिनुभयो।
बालबालिकाको गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउन शिक्षकहरूलाई मन्टेश्वरी तालिम प्रदान गर्दै रचनात्मक बनाइँदै आएको तथा यस वर्षदेखि अभिभावकको मागअनुसार यातायात सुविधाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।










