|
9,000 SHARES |
सुर्योदय, इलाम । नेपालमा २०७४ साल जेठ ८ गते नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।
भलिबल खेललाई राष्ट्रिय खेल घोषणा भएपछि पहिलो पटक हुन लागेको फ्रेन्चाइज महिला भलिबलमा काजकिस्तानकी खेलाडीले मधेश युनाइटेडबाट खेल्ने भएकी छन् । एभरेस्ट वुमन्स भलिबल लिगमा फ्रेन्चाइज टोली मधेश युनाइटेडले काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियालाई आबद्ध गरेको फेसबुक पेज मा विज्ञप्ति जारी गर्दै मंगलबार जनाएको छ ।
भलिबल खेलको जानकारी दिने भलिबक्स डटनेटका अनुसार सन् १९८९ मार्च २५ मा जन्म भएकी ३५ वर्षे येभजिनिया आउटसाईड हिटर स्पाइकर हुन् । काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको काजकिस्तान कप २००८/०९, काजकिस्तान लिग २०१२/१३, काजकिस्तान हाई लिगको ३ संस्करणहरु २०२०/२१, २०२१/२२, २०२२/२३ खेलेकी उनको उचाइ १८० सेन्टिमिटर र तौल ६३ किलोग्राम रहेको छ । दसैं अगाडि हुने भनिएको भलिबल लिगका लागि घोषणा गरिएका खेलाडीहरुमा नेपाल आउन लागेका उनी पहिलो विदेशी खेलाडी हुन् ।
“मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदै छु । मधेश युनाइटेडबाट खेल्दै छु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।”
– कालिनोभा यभजिनिया, महिला भलिबल खेलाडी, काजकिस्तान
कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकामा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताइन् । ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदै छु । मधेश युनाइटेडबाट खेल्दै छु । हाम्रो टिमलाई समर्थन गर्नुहोला,’ उनले मधेश युनाइटेडको फेसबुक पेजमा प्रकाशित भिडियो विज्ञप्तिमा भनेकी छन् ।

मधेश युनाइटेडको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । नेपाली खेलाडीहरूको नाम यसअघि नै सार्वजनिक भइसकेको छ । राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू–२० टिमकी एलिसा मानन्धर र आशिका क्षेत्री छन् । यस्तै हीरा केसी, पूजा थारू र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् ।
एभरेष्ट प्रिमियर लिग (EPL) सञ्चालन गरिसकेको अनुभवी आयोजक
नेपाल क्रिकेट संघ अन्तराष्ट्रिय क्रिकेट परिषदबाट निलम्बनमा परेको समयमा यस एभरेस्ट वुमन्स भलिबल लिग आयोजना गर्ने आयोजक एभरेष्ट प्रिमियर लिग (EPL) नामको क्रिकेट लिग सन २०१६ देखि २०२१ सम्म केही संस्करण गराएको अनुभवी संस्था हो । एभरेष्ट प्रिमियर लिग (EPL) सञ्चालन भएको समयमा नेपालकै सबैभन्दा ठुलो क्रिकेट लिग थियो । त्यस समयमा पोखरा प्रिमियर लिग (PPL) र धनगढी प्रिमियर लिग (DPL) पनि सञ्चालनमा थिए तर यि तिनै वटा लिगहरु हाल सञ्चालनमा छैनन् ।











