|
837 SHARES |
झापा । नेपाल ख्रीष्टियन रिभाइभल चर्च परिषद् (एनसीआरसी नेपाल) ले भोटेकोसी बाढीबाट प्रभावित परिवार, विद्यार्थी तथा अभिभावकविहीन बालबालिकाका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।
राहत अभियानका लागि झापाका ३२ वटा मण्डलीसहित आमा सङ्गति, युवा सङ्गति र बाल सङ्गतिबाट रकम सङ्कलन गरिएको परिषद्ले जनाएको छ। विभिन्न मण्डली तथा सङ्गतिहरूको सहयोगबाट सङ्कलित रकमबाट राहत सामग्री खरिद गरी असोज २२ र २३ गते प्रभावित क्षेत्रमा वितरण गरिएको हो।
परिषद्ले नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिशूली सामुदायिक विद्यालयका १६० जना र गुडविल एकेडेमी विद्यालयका ८७ जना विद्यार्थीलाई कपडा तथा शैक्षिक सामग्री प्रदान गरेको थियो। शिक्षकहरूलाई समेत आवश्यक सामग्री उपलब्ध गराइएको परिषद्ले जनाएको छ।
त्यसैगरी, बाढीका कारण अभिभावक गुमाएका १३ जना बालबालिकालाई पोसाक वितरण गरिएको थियो भने ५० जनालाई बर्को उपलब्ध गराइएको थियो।
राहत अभियानअन्तर्गत नुवाकोटको देवीघाट–पिपलटार क्षेत्रमा १५० जनालाई खाना खुवाइएको परिषद्ले जनाएको छ ।
यसैगरी, काठमाडौँको गोदावरीमा रहेका रसुवा बाढीपीडित १३ परिवारलाई लत्ताकपडा वितरण गरिएको थियो। बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको आवश्यकता र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत सामग्री उपलब्ध गराइएको परिषद्ले जनाएको छ।
राहत वितरण कार्यक्रममा परिषद्का अध्यक्ष एनोस गजमेर, सचिव प्रेम उपरकोटी, अगुवा समीर राईसहित झापाबाट सात जनाको सहभागिता रहेको थियो।
परिषद्का सचिव प्रेम उपरकोटीले बाढीबाट प्रभावित परिवार तथा बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनमा पनि थप राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने तयारी रहेको बताए।
विपद्का कारण समस्यामा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानले प्रभावित विद्यार्थी, अभिभावकविहीन बालबालिका तथा परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।









