|
816 SHARES |
बिर्तामोड । झापा बाह्रदशीका नवयुवाहरुसँग आज समसामयिक राजनीतिक संवाद गरिएको छ । ‘कफी विथ कमरेड’ नाम दिइएको कार्यक्रममा सो क्षेत्रका युवाहरुको सहभागिता थियो ।
नेकपा एमाले बाह्रदशीले आयोजना गरेको ‘कफी विथ कमरेड’ मा युवाहरुले मुलुकको समसामयिक विषयवस्तुमा चासो राखेका थिए । उनीहरुले जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक घटनाक्रमका बारेमा जिज्ञासा राखेका थिए । झापामै पहिलो पटक युवाहरुका माझ आयोजना गरिएको रचनात्मक कार्यक्रममा अधिकांश युवाहरुले मुलुकको भविष्यबारे चिन्ता प्रकट गरे । उनीहरुले गाउँघरमा समस्याका समस्याहरु समेत राखेका थिए ।
नेकपा एमालेसँग सद्भाव राख्ने युवाहरुले एमालेलाई समयानुकुल बनाउदै लैजानुपर्ने धारणा राखेका थिए । विगतका कमजोरीहरुलाई सच्याएर अघि बढ्नुपर्नेमा उनीहरुको जोड थियो । एमालेमा युवाहरुलाई अवसर दिनुपर्ने, समयानुकल नीति निर्माण गर्नुपर्ने, युवाहरुका लागि प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने सूझाव दिए । कतिपय युवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टी आन्दोलनमा वर्षौदेखि योगदान गर्ने नेताहरुलाई पार्टीको सल्लाहकार बनाएर जानुपर्ने धारणा राखेका थिए ।
जेनजी आन्दोलनपछि विभिन्न विषयहरुमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै पार्टी च्यानल मार्फत सत्य र तथ्य सार्वजनिक गर्न ढिलाई गर्न नहुने धारणा थियो । ‘कफी विथ कमरेड’ मा सहभागी युवाहरुले नेतृत्व चयन, टिकट वितरणमा पारदर्शी र भुगोलको अध्ययन गरेर मात्रै टिकट वितरण हुनुपर्ने सूझाव दिए ।
नेकपा एमाले र युवाहरुबिच ठुलो ग्याप भइरहेको उनीहरुको धारणा थियो । युवाहरुलाई योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने युवाहरुको सूझाव थियो । कतिपयले युवाले मेहनत गर्ने किसानले अनुदान पाउन नसकेको, समयमा धनीपुर्जा वितरण नभएको जस्ता प्रश्नहरु गरेका थिए । जनप्रतिनिधिहरुले अपेक्षा गरे अनुसार काम नगरेको, पार्टी नेतृत्वसँग जनप्रतिनिधिहरुको समन्वय नभएको विषय समेत उठेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाह्रदशीका उत्प्रेरक मनोज ताम्ली, प्रतिनिधिसभा सदस्य एवम् एमाले सचेतक निता घतानीले युवाहरुले उठाएका सवालमा सहजीकरण गरेका थिए । उनीहरुले युवाहरुका लागि पार्टीले गरिरहेको काम र पार्टीविरुद्ध फैल्याइएका भ्रमका बारेमा धारणा थिए । जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा दुवै नेताले युवासँग संवाद गरेका थिए । कार्यक्रमको पहिलो चरणमा युवाहरुलाई खुलेर एमालेमाथि प्रश्न गर्न आग्रह गरिएको थियो । एमाले र युवाबिच किन दुरी बढिरहेको छ भन्नेबारे धारणा राख्न समय उपलब्ध गराइएको थियो ।
नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले ‘कफी विथ कमरेड’ मा युवाहरुले खुलेर विषयवस्तुहरु राखेको जानकारी दिए । युवासँग हामी किन टाढा भइरहेका छौं भन्नेबारे उनीहरुसँग खुलेर कुराकानी गर्न ‘कफी विथ कमरेड’ को आयोजना गरिएको अध्यक्ष सापकोटाको भनाई छ । उनले युवा पुस्ताको साथसहयोग बिना पार्टी निर्माण र समाज रुपान्तरण कठिन हुने बताए । अध्यक्ष सापकोटाले जेनजी आन्दोलनपछि एमाले र युवाबिचको बढ्दो दुरीलाई जोड्न ‘कफी विथ कमरेड’ प्रभावकारी हुने विश्वास गरेका छन् ।
‘कफी विथ कमरेड’ मा युवाहरुलाई ब्लाक र मिल्क कफीको व्यवस्था मिलाइएको थियो ।










