|
856 SHARES |
खुदुनाबारी । झापाको अर्जुनधारा–३, खुदुनाबारीस्थित प्रस्तावित प्राकृतिक रंगशालामा वडास्तरीय अन्डर–१७ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। शुक्रबारदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ११ ले वडा नम्बर १० लाई टाइब्रेकरमा पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ।
अर्जुनधारा नगरपालिकाका ११ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ४४औँ मिनेटमा वडा नम्बर १० का नवीन चेम्जोङ तागेराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै वडा नम्बर ११ का सुधन नेम्बाङले जवाफी गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पुर्याए।
निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा वडा नम्बर ११ ले ३–२ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्यो।
टोलीको जितमा गोल गरेका सुधन नेम्बाङ खेलको प्लेयर अफ दी म्याच घोषित भए। उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरे।

स्थानीय खुदुनाबारी परोपकार केन्द्रको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख गोम्देनले गरेका थिए। स्थानीयस्तरमा युवा फुटबल खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार ५ सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष लिलाबल्लभ खतिवडाले जानकारी दिए।










