|
1,055 SHARES |
काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक तह तथा प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
नियमावलीमा सवारी साधन खरिदका लागि बैंकमार्फत लिइने कर्जाको किस्तागत ब्याजमध्ये ८० प्रतिशतसम्मको रकम नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने प्रस्ताव गरिएको छ। बाँकी २० प्रतिशत ब्याज शिक्षक स्वयंले व्यहोर्नुपर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ।
प्रस्तावित व्यवस्थाअनुसार शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्नेछ।
शिक्षकलाई सवारी साधन खरिदमा आर्थिक सहुलियत उपलब्ध गराउने उद्देश्यले अघि सारिएको यो व्यवस्था हाल प्रस्तावकै चरणमा रहेको छ। शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएकाले नियमावलीको अन्तिम व्यवस्था तथा कार्यान्वयनबारे थप निर्णय हुन बाँकी छ।










