|
1,033 SHARES |
इलाम । इलामको रोङ गाउँपालिका–२, हात्तीसुडे आसपासमा पहिरो खस्दा गोयाङ्खोला थुनिएर दह बनेको छ। पहिरोका कारण खोलाको बहाव प्रभावित भए पनि खोला पूर्णरूपमा थुनिएको छैन।
रोङ गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेका अनुसार ‘खोला फर्के’ भन्ने स्थानमा पहिरो खस्दा ठुटे र गोयाङ खोलाको दोभानमा करिब २० फिटभन्दा बढी लम्बाइ र आठ फिटजति गहिराइको दह बनेको छ।
वडाध्यक्ष घिमिरेले आफू आज बिहानै घटनास्थल पुगेर अवस्थाको निरीक्षण गरेको बताउँदै हाल ठूलो जोखिमको अवस्था नरहेको जानकारी दिनुभयो। उहाँका अनुसार खोला पूर्णरूपमा अवरुद्ध नभएकाले पानीको बहाव भने निरन्तर भइरहेको छ।
तर, घटनास्थल नजिकैबाट थप सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले जोखिम बढ्न सक्ने उहाँले बताउनुभयो। थप पहिरो खसेर खोला पूर्णरूपमा थुनिएमा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने उहाँको भनाइ छ।
घटनास्थलमा कुनै पनि उपकरण पु¥याउन सक्ने अवस्था नरहेकाले स्थानीयवासीको सहयोगमा दह खोल्ने प्रयास गरिने वडाध्यक्ष घिमिरेले बताउनुभयो।
सोही क्षेत्रका सामुदायिक वनका अध्यक्ष खुम्बा तामाङले पनि गोयाङ्खोला थुनिएर दह बनेको सूचना प्राप्त भएको बताउनुभएको छ। उहाँले केही समयपछि स्थानीयवासीसहित घटनास्थल पुगेर अवस्थाको निरीक्षण गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ।
यसैबीच, झापाको अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले गोयाङ्खोला थुनिएको सूचना प्राप्त भएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गर्नुभएको छ। उहाँले मिश्रटार, गाँजाबारी, राते, झेलेनीलगायतका बस्तीमा खोलाको छेउछाउ बसोबास गर्ने सबैलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको हो।
इलामको रोङ गाउँपालिकाबाट बग्ने गोयाङ्खोला झापा प्रवेश गरेपछि टाङटिङ खोलामा मिसिन्छ। त्यसपछि यो बिरिङ खोलाका रूपमा बग्ने भएकाले माथिल्लो क्षेत्रमा खोलाको बहावमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रसमेत प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ।










