|
1,052 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको ३०औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। समूहको प्रांगणमा आयोजित साधारणसभाको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले गर्नुभएको थियो।
साधारणसभामा समूहका अध्यक्ष अम्बरबहादुर राईले आगामी वर्षका लागि विपन्न उपभोक्तालाई सुरक्षित आवासको व्यवस्था गर्नेदेखि संस्थाको पक्की भवन निर्माण गर्नेसम्मका योजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्था स्थापना कालमा निर्माण गरिएको कार्यालय भवन जीर्ण बन्दै गएपछि चालु आर्थिक वर्षमै पक्की भवन निर्माण गर्ने योजना समूहले अघि सारेको छ। त्यस्तै, खैरेनी पर्यापर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने योजना पनि अघि सारिएको छ।
समूहले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई समेत प्राथमिकतामा राखेको छ। हात्तीले उपभोक्ताको घर भत्काएमा घर निर्माणका लागि उचित सहयोग गर्ने, वन्यजन्तुका कारण उपभोक्ता घाइते भए उपचारमा सहयोग गर्ने तथा मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँसम्म सहयोग गर्ने योजना अध्यक्षको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, ‘क’ वर्गमा रहेका विपन्न उपभोक्ताको न्यूनतम विद्युत् महसुल समूहले भुक्तानी गर्ने योजना बनाएको छ। एक वर्षमा पाँच जना अति विपन्न उपभोक्ताका लागि सुरक्षित आवासको व्यवस्था गर्ने तथा दाउराको प्रयोग घटाउन १० घरधुरीलाई बायोग्यास वितरण गर्ने कार्यक्रमसमेत अघि सारिएको छ।
समूहले चालु आर्थिक वर्षका लागि १ करोड ३६ लाख ३ हजार ९५९ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा समूहले १ करोड १० लाख २७ हजार ६९३ रुपैयाँ बराबरको कारोबार गरेको जनाइएको छ।

साधारणसभाका अवसरमा समूहले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने उपभोक्ता तथा विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। जेहेन्दार विद्यार्थीका रूपमा गणेश आविकी आयुष्मा पुलामीमगर र सिंहदेवी माध्यमिक विद्यालयकी प्रतिज्ञा तिम्सिनालाई सम्मान गरिएको छ।
त्यस्तै, महिला उद्यमीतर्फ रोशिका गुरुङ सुब्बा, मौरीपालक कृषकतर्फ यादव एक्तेन र खेमनाथ आचार्यलाई सम्मान गरिएको छ। समूहअन्तर्गत रहेका ३० वटा टोल समितिमध्ये वन संरक्षणमा उत्कृष्ट ठहरिएका टोल नम्बर १० र १९ लाई समेत पुरस्कृत गरिएको छ।










