|
802 SHARES |
काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ नगरेको, उद्धार गरेको दाबी गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबराको परिवारले सुरक्षाको माग गरेपछि प्रहरीले उनको उद्धार गरेको बताएका हुन्।
‘उहाँलाई पक्राउ गरिएको होइन, उद्धार गरिएको हो,’ प्रवक्ता पोखरेलले भने। गत शनिबार राति प्रहरीले जबरालाई उहाँकै निवासबाट नियन्त्रणमा लिएर लगेको थियो। त्यसको भोलिपल्ट आइतबार दिउँसो उनलाई छाडिएको थियो।
जबरालाई प्रहरी नियन्त्रणमा राखिएको समयमा परिवार तथा अन्य व्यक्तिलाई भेट्न नदिइएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले समेत आपत्ति जनाएको थियो।
यस विषयलाई लिएर संसद् बैठकमा समेत सरकार र प्रहरीको आलोचना भएको थियो। सरकारले भने जबरालाई सुरक्षा जोखिमका कारण उद्धार गरिएको दाबी गरेको छ।










