|
1,066 SHARES |
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता रहेका छन्।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा मंगलबार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्।
यसअघि शनिबार ताराखोला गाउँपालिकामै पहिरोमा परी एकजनाको मृत्यु भएको थियो। यस्तै, आइतबार तमानखोला गाउँपालिकामा बाढीपहिरोमा परी चारजनाको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।
निसीखोला गाउँपालिकामा पनि आइतबार आएको बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो तीन दिनमा जिल्लाका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मानवीय तथा भौतिक क्षति भएको छ।
प्रहरी तथा स्थानीय तहको समन्वयमा खोज, उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको जनाइएको छ।










