|
861 SHARES |
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि ३३ लाख ४१ हजार २६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
अर्जुनधारा नगर प्रमुखको सचिवालयका अनुसार गत महिना आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारको निर्णयअनुसार नगरपालिकाका कर्मचारी तथा शिक्षकहरूको तलबबाट रकम कट्टा गरी कोषमा जम्मा गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ढुंगानाका अनुसार विभिन्न तहका कर्मचारी तथा शिक्षकको २ दिनदेखि ७ दिनसम्मको तलब कट्टा गरी ३१ लाख ९१ हजार २६ रुपैयाँ संकलन भएको हो। त्यसमा नगरपालिकाको तर्फबाट १ लाख ५० हजार रुपैयाँ थप गरी कुल ३३ लाख ४१ हजार २६ रुपैयाँ कोषमा जम्मा गरिएको हो।
नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, विपद् प्रतिकार्य, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।










