|
1,077 SHARES |
काठमाडौं । तीन दिनदेखि जारी अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका घटनामा परी देशभर १२ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै बाढी तथा पहिरोमा परी थप ६ जनाको मृत्यु भएको हो। असोज ७ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
उहाँका अनुसार पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा बागलुङमा चार र म्याग्दीमा दुई जना गरी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो।
मौसम पूर्वानुमान महाशाखाले वर्षा र सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि सोहीअनुसार विपद् व्यवस्थापनका लागि तयारी गरिएको प्राधिकरणले जनाएको छ। जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट जारी भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको महतले बताउनुभयो।
विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा पदयात्रीलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उहाँले जानकारी दिनुभयो। हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको प्राधिकरणले जनाएको छ। विदेशी पर्यटक तथा यात्रुलाई मौसम र सम्भावित जोखिमबारे जानकारी गराउन अंग्रेजी भाषामा समेत सूचना जारी गरिएको थियो।
प्रवक्ता महतका अनुसार असोज ७ गतेदेखि वर्षा सुरु भएयता मानवीय क्षति तुलनात्मक रूपमा कम भए पनि पछिल्लो २४ घण्टामा क्षतिको संख्या बढेको हो। पाल्पामा असोज ९ गते पहिरोले घर पुरिँदा एक जना सम्पर्कविहीन भएका थिए भने पछिल्लो २४ घण्टामा बागलुङमा चार र म्याग्दीमा दुई जना बेपत्ता भएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान गरिरहेको जनाएको छ। ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित सूचना संकलन तथा सम्प्रेषण भइरहेको छ।
प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको थियो। कालीगण्डकी र नारायणी नदी बेसिनका कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढ्नुका साथै कटानसमेत भएको प्राधिकरणले जनाएको छ।










