|
825 SHARES |
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित गन्तव्य क्लब एन्ड बारमा ग्राहकलाई बाउन्सरसहितको समूहले कुटपिट गरेको आरोपमा सञ्चालकसहित सातजनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ।
घटनामा क्लब सञ्चालक निर्भिक शिवाकोटी, बाउन्सर हेड सञ्जीव धिमालसहित अमिर चौधरी, करण धिमाल, मानबहादुर धिमाल, अभिषेक धिमाल र लक्ष्मण धिमाललाई विपक्षी बनाइएको छ।
जाहेरीअनुसार २०८३ असोज २ गते राति सरोज लावतीलाई क्लबभित्रै बियरको बोतललगायतका सामानले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरिएको आरोप छ। कुटपिटबाट लावतीको टाउकोमा गम्भीर चोट लागेको र १० टाँका लगाइएको जाहेरीमा उल्लेख छ।
पीडित पक्षले घटनाको सिसी टिभी फुटेज सुरक्षित राखी अनुसन्धान गर्न, घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
गन्तव्य क्लब एन्ड बारमा झडप तथा कुटपिटको घटना यसअघि पनि सार्वजनिक हुँदै आएका छन्। यसअघि क्लबमा झडप हुँदा दुईजना घाइते भएका थिए भने कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो। सोही क्रममा सञ्चालक शिवाकोटीलाई प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
यसपटक परेको जाहेरीमाथि प्रहरीले अनुसन्धान अघि बढाउने जनाएको छ।










