|
796 SHARES |
काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक संवादमा सहभागिता जनाउँदै हुनुहुन्छ।
बिहीबार नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। नेपाल–भारत आर्थिक सहकार्य तथा द्विपक्षीय हितका विषयमा केन्द्रित भ्रमणका क्रममा उहाँले शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
इन्डिया इन्टरनेसनल सेन्टरमा हुने उक्त कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारतबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धका विषयमा धारणा राख्नुहुनेछ।
भ्रमण तालिकाअनुसार अर्थमन्त्री वाग्लेले शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा पारस्परिक हितका विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, अर्थमन्त्री वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जाभेद अशरफले भारत मण्डपममा आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा समेत सहभागी हुनुहुनेछ। कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विविध आयामबारे उद्योगी–व्यवसायी तथा उच्चपदस्थ अधिकारीसँग छलफल हुने जनाइएको छ।
अर्थमन्त्री वाग्लेको भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने तथा लगानी, व्यापार र सहकार्यका सम्भावित क्षेत्रबारे संवाद अघि बढाउने अवसरका रूपमा हेरिएको छ।










