|
1,543 SHARES |
रसुवा । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका क्रममा बुधबार मात्रै विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट १० वटा शव फेला पारिएको छ।
चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट चारवटा सग्लो शव र एउटा मानव अङ्ग फेला परेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो।
नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणको जनशक्ति तथा भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले विद्युत् गृह क्षेत्रमा खोजी गर्ने क्रममा ती शव फेला पारेको उहाँले बताउनुभयो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले चिलिमे जलविद्युत् केन्द्रको परिसरमा रहेका भवन तथा पर्खाल बगाउनुका साथै सुरुङसमेत बन्द भएको थियो। प्रतिकूल अवस्थाका बाबजुद नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले सुरुङ क्षेत्रमा खोजीलाई निरन्तरता दिँदै शव फेला पारेको हो।
केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलका अनुसार बाढी आएको दिन बिहानको सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित ६ जना कर्मचारी कार्यरत थिए।
सुरुङभित्र फसेका कर्मचारीको खोज तथा उद्धारलाई थप सहज बनाउन नेपाली सेनाले सदरमुकाम धुन्चेमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखेको छ।
यसैबीच, खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट आजै थप पाँच जनाको शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो।
यससँगै बुधबार मात्रै चिलिमे जलविद्युत् केन्द्र र अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ का सुरुङ तथा अडिट टनेलबाट १० वटा शव तथा मानव अङ्ग फेला परेको जनाइएको छ।










