झापा । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको विशेष प्रतिनिधि भएको बताउँदै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब र धाकधम्की दिने गरेको आरोपमा झापाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ निवासी २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । उनले आफू रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै विभिन्न स्थानमा परिचय दिने गरेको प्रहरीले जनाएको छ ।
विश्वकर्माले आफू उच्च सरकारी तथा राजनीतिक पहुँचमा रहेको भन्दै विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने र त्यहाँका कर्मचारी तथा सम्बन्धित व्यक्तिलाई दबाब तथा धाकधम्की दिने गरेको आरोप छ ।
प्रहरीका अनुसार उनले आफ्नो पद र पहुँचको प्रभाव देखाउँदै विभिन्न निकायमा दबाब सिर्जना गर्ने तथा आफूले भनेअनुसार काम गर्न लगाउने प्रयास गर्दै आएका थिए ।
उक्त गतिविधिबारे सूचना प्राप्त भएपछि प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विश्वकर्माले आफूलाई रास्वपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको विशेष प्रतिनिधि वा सचिवालय सदस्यका रूपमा परिचय दिनुको वास्तविकता तथा उनले गरेका गतिविधिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अनुसन्धानबाट उनले सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै दिएको परिचय झुटो रहेको पुष्टि भएमा उनीमाथि प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।











