एसीसी प्रिमियर कप : युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले तेस्रो संस्करणको एसिसी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो।

उपाधिसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको छ। नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो। यसअघि सन् २०२३ मा पनि नेपालले युएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको थियो।

विज्ञापन

फाइनलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव १ ओभरमा २६९ रनमा समेटियो। युएईका राहुल चोपडाले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा अविजित १०० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

विज्ञापन

युएईका लागि सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए।

नेपालका लागि बलिङमा करण केसीले तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक–एक विकेट लिए।

त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो।

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतमा १०२ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो।

यस्तै, गुलशनकुमार झाले आक्रामक अर्धशतकीय पारी खेल्दै ३८ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ५२ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुलशनको यो छैटौँ अर्धशतक हो।

नेपालका लागि अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए।

युएईका इब्रार अहमदले चार विकेट लिए भने खुजैमा तनवीरले दुई तथा हैदर अली र अबीद उस्मानीले एक–एक विकेट लिए।

प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कप २०२७ मा स्थान पक्का गरेको छ भने गत संस्करणको विजेता युएई भने एसिया कपमा छनोट हुनबाट वञ्चित भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय