|
680 SHARES |
बिर्तामोड । बिर्तामोड नगरपालिका–७ स्थित कञ्चन इङ्लिस बोर्डिङ स्कुलको कञ्चन बाल क्लबले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा क्लबले विद्यालय परिसरमा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको विद्यालयका फाउन्डर तथा सह-प्रधानाध्यापक बद्री बास्कोटाले जानकारी दिनुभयो।
यसैबीच, कञ्चन बाल क्लबले बाढीपीडितको राहत तथा उद्धारका लागि रु ३० हजार १ सय ३५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सह-प्रधानाध्यापक बास्कोटाले बताउनुभयो।

कञ्चन बाल क्लबको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रममा विद्यार्थी तथा विद्यालय परिवारको सहभागिता रहेको थियो।










