|
971 SHARES |
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको खोजी गर्ने क्रममा बेत्रावतीस्थित एक घरभित्र ठूलो संख्यामा शव फेला परेको हो।
स्थानीयवासीले उक्त घरमा बाढीमा परी ज्यान गुमाएका धेरै व्यक्तिको शव हुन सक्ने जानकारी दिएपछि प्रहरी टोली सोमबार त्यहाँ पुगेको थियो। खोजीका क्रममा घरभित्र ठूलो संख्यामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले पुरिएको घरबाट सोमबार ५–६ वटा शव निकालिएको छ। रात परेपछि रोकिएको शव निकाल्ने कार्य मंगलबार बिहानैदेखि पुनः सुरु गरिएको छ। घरभित्र अझै २० वटाभन्दा बढी शव हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यसैबीच, भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म ९ सय ५१ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये ९ सय २७ वटा शवको जाँच मुचुल्का तयार पारिएको छ।
पहिचान हुन नसकेका ८ सय २४ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। त्यस्तै, पहिचान हुन नसकेका तथा अलपत्र अवस्थामा रहेका ४ सय १३ शवलाई जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।










