खोटाङ । भोजपुरको भदौरे मेलामा सहभागी हुन पुगेका खोटाङका एक शिक्षकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका ३९ वर्षीय शिक्षक भानुभक्त राईको बिहीबार राति करिब ११ः४५ बजे भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
राई केपिलासगढी गाउँपालिका–७ का स्थानीय हुन्। उनी गाउँकै सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा अध्यापन गराउँदै आएका थिए।
तीन दिन विद्यालय बिदा भएकाले संखुवासभा पुगेर फर्किने भन्दै राई बिहीबार गाउँबाट हिँडेका थिए। जनैपूर्णिमा तथा ऋषितर्पणीको अवसरमा शुक्रबार सालपा पोखरीमा लागेको मेला भर्न उनी भोजपुर पुगेका थिए।
प्रहरीका अनुसार पुरानो विवादलाई लिएर राईमाथि कुटपिट गर्नुका साथै ढुंगासमेत प्रहार गरिएको थियो। गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केपिलासगढी–७ का ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय प्रवेस भन्ने सागर कोची राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माइकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन्।
पक्राउ परेका उनीहरूविरुद्ध भोजपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










