|
1,025 SHARES |
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि संघीय सरकारले प्रदेशसँग पर्याप्त समन्वय नगरेको गुनासो गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग वनस्थलीस्थित पार्टी कार्यालयमा भएको भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताएका हुन्।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दासमेत प्रदेश सरकारले त्यसबारे जानकारी नपाएको भन्दै उनले असन्तुष्टि जनाए।
मुख्यमन्त्री थापाले विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहले गर्ने काम स्पष्ट रूपमा छुट्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन। त्यसकारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेका छौँ। तीन तहमा कसले के काम गर्ने हो, त्यो छुट्याउन आवश्यक छ।’
जवाफमा रास्वपा सभापति लामिछानेले विपद्का बेला सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने बताए। प्रदेश सरकारले स्थानीय र संघीय सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा मुख्यमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन कठिनाइ भइरहेको जानकारीसमेत गराएका थिए। पठाइएको राहत बट्टार क्षेत्रमा जम्मा भएको तर त्यसभन्दा माथिल्लो प्रभावित क्षेत्रमा पुर्याउन असहज भइरहेको उनले बताएका थिए।










