|
942 SHARES |
बिर्तामोड । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर पूँजी ६० करोड रुपैयाँ पुर्याउने भएको छ।
बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्क्वेटमा शनिबार सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारण सभाले हाल कायम २८ करोड रुपैयाँको संस्थापक शेयर पूँजी वृद्धि गरी ६० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो। ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले २०७१ सालमा ‘पुष्पलाल स्मृति ऊर्जा सहकारी’का रूपमा स्थापना भएको संस्था २०७७ सालमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।
अध्यक्ष लालप्रसाद साँवाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रस्तुत वित्तीय प्रतिवेदनअनुसार कम्पनीले विभिन्न जलविद्युत् तथा व्यावसायिक परियोजनामा लगानी विस्तार गरेको छ। प्रतिवेदनअनुसार गोरक्ष हाइड्रोपावरमा ५ करोड ३० लाख रुपैयाँ, काबेली इनर्जीमा ५ करोड रुपैयाँ, लुकाई भिलेजमा ४ करोड रुपैयाँ, लालुपाते हाइड्रोपावरमा २ करोड २० लाख रुपैयाँ र किसान नेट प्रालिमा ५० लाख रुपैयाँ लगानी गरिएको छ।
कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिसकेको जनाएको छ। कम्पनीमा व्यवसायी नारायण बजाज र टेम्पा शेर्पाको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ। दुवैको प्रतिव्यक्ति २५ हजार कित्ता शेयर रहेको कम्पनीले जनाएको छ।
वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट सरोज श्रेष्ठले प्रस्तुत गरेका थिए। सभामा कम्पनीका सञ्चालकहरू टेम्पा शेर्पा, अग्निप्रसाद दुलाल, चन्द्रप्रसाद सङ्ग्रौला र यशोदा चापागाईंसहित लगानी सहजकर्ताहरू सुवास भट्टराई, असारु राजवंशी र रामचन्द्र उप्रेतीलगायतको उपस्थिति थियो।
बिर्तामोड नगर प्रमुख तथा कम्पनीकी लगानी सहजकर्ता पवित्रा महतारा प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन कम्पनी सचिव भीम लिवाङले गरेका थिए।










