|
949 SHARES |
विनोद सापकोटा
शिवगञ्ज, भदौ १३ ।
तीन वर्षअघि करिब एक हजार श्रद्धालुको सहभागिताबाट सुरु भएको श्रीकृष्ण रथयात्रालाई झापाको पुरानो बजार शिवगञ्जले यस वर्ष करिब १० हजार मानिस सहभागी हुने बृहत् धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउने तयारी गरेको छ। शिवसताक्षी नगरपालिका–६ स्थित श्री सनातन धर्मसंवर्धन संस्थाले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २० गते आयोजना गर्ने रथयात्रालाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी शिवगञ्जको ऐतिहासिक पहिचान, सामाजिक सद्भाव र धार्मिक पर्यटनसँग जोड्ने तयारी गरेको हो।
रथ यात्राका मुख्य योजनाकार पण्डित माधवशरण अधिकारीका अनुसार २०८० सालदेखि सुरु भएको रथयात्रामा पहिलो वर्ष करिब १ हजार र दोस्रो वर्ष करिब २ हजार ५ सय श्रद्धालु सहभागी भएका थिए। यसपटक शिवसताक्षीका विभिन्न वडासहित आसपासका क्षेत्रबाट गरी करिब १० हजार धर्मानुरागी सहभागी हुने आयोजकको अपेक्षा छ। “यो रथ घुमाउने धार्मिक कार्यक्रम मात्र होइन, शिवगञ्जको इतिहास, संस्कृति र सामाजिक एकतालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अभियान पनि हो,” अधिकारीले पत्रकार सम्मेलनमा भने, “जुनसुकै धर्म र समुदायमा आस्था राख्ने महानुभावलाई रथयात्रामा सहभागी हुन हामी खुला आह्वान गर्छौं।”
अघिल्लो वर्षको रथयात्राले यसको बहुसांस्कृतिक स्वरूपसमेत देखाइसकेको छ। रथयात्रामा नेवा समुदायले लाखे नाच र सन्थाल समुदायले आफ्नो परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। विभिन्न समुदाय, राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक व्यक्तित्व र सर्वसाधारणको सहभागिताले रथयात्रालाई एउटा समुदायको धार्मिक अनुष्ठानभन्दा माथि उठाएर साझा उत्सवको स्वरूप दिएको थियो। आयोजकले यही पक्षलाई यस वर्ष अझ फराकिलो बनाउने तयारी गरेको छ। धार्मिक आस्थासँगै समुदायबीचको भेटघाट, आपसी सद्भाव र सांस्कृतिक आदानप्रदानको माध्यम बन्ने भएकाले यस्ता उत्सवले सामाजिक सम्बन्धलाई बलियो बनाउने आयोजकको विश्वास छ।
रथयात्राको पूर्वसन्ध्यामा भदौ १९ गते शिवगञ्जस्थित दुर्गा मन्दिरमा बृहत् महाआरती आयोजना हुनेछ। महाआरतीमा महिला र पुरुष दुवैको सहभागिता रहने अधिकारीले बताए। सोही दिन साँझ आध्यात्मिक प्रवचन तथा भजनकीर्तन हुनेछ। विभिन्न धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्व र धर्मगुरुको उपस्थितिमा आध्यात्मिक प्रवचन, भजन तथा कीर्तन गरिने आयोजकले जनाएको छ।
मध्यरातमा दुर्गा मन्दिर परिसरमा भगवान् श्रीकृष्ण प्राकट्य महोत्सव मनाइनेछ। त्यसको भोलिपल्ट अर्थात् भदौ २० गते बिहान १० बजे शिवगञ्जबाट रथयात्रा सुरु हुनेछ। रथयात्राका लागि शिवगञ्ज र आसपासका प्रमुख बस्ती, धार्मिक स्थल र बजारलाई जोड्ने मार्ग तय गरिएको छ। शिवगञ्जबाट सुरु हुने रथ वडा नम्बर ५ को आमबारी हुँदै जनता चोक पुग्नेछ। त्यहाँबाट हवल्दार चोक, रामजानकी मन्दिर, शिवगञ्जको धरहरा, हेल्थ पोस्ट हुँदै वडा नम्बर ६ को पाथीभरा मन्दिर पुग्नेछ। त्यसपछि थाना रोड हुँदै पुनः दुर्गा मन्दिरमा पुगेपछि रथयात्रा विसर्जन गरिने कार्यतालिका छ।
रथ गुड्ने बाटो र स्थानीय विकासबीचको सम्बन्धलाई पनि आयोजकले रोचक ढंगले जोडेको छ। “पहिले यही रुटमा रथ घुमाउँदा अधिकांश सडक कच्ची थिए,” अधिकारीले भने, “अहिले ती सडक कालोपत्रे भएका छन्। रथयात्राले धार्मिक आस्थासँगै आफ्नो ठाउँप्रतिको अपनत्व र विकासको चेतना पनि बढाएको हामीले महसुस गरेका छौँ।”
स्थानीय स्तरका यस्ता उत्सवले बजारको आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। हजारौँ मानिस एकैपटक कुनै स्थानमा पुग्दा स्थानीय व्यापार, यातायात, खाद्य तथा अन्य साना व्यवसायमा चहलपहल बढ्छ। त्यसमाथि स्थानीय मठमन्दिर, संस्कृति र परम्परालाई व्यवस्थित रूपमा प्रचार गर्न सके शिवगञ्जलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा चिनाउने आधार बन्न सक्ने स्थानीयको अपेक्षा छ।
यस वर्ष रथयात्रासहितका कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार पहिलो वर्ष करिब ३ लाख र दोस्रो वर्ष करिब ५ लाख रुपैयाँ खर्च भएको थियो। कार्यक्रमको मुख्य आर्थिक स्रोत धर्मानुरागी तथा सहयोगीले स्वेच्छाले प्रदान गर्ने दान हो। शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्की, वडा नम्बर ५ का अध्यक्ष सिकिन पासवान र वडा सदस्य गोमा रिजालले रथयात्रालाई शिवगञ्जको साझा पहिचानका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनीहरूले नगरवासीलाई कार्यक्रममा सहभागी भएर रथयात्रा सफल बनाउन आग्रह गरेका छन्।
यसअघि मुख्यतः वडा नम्बर ५ र ६ का बासिन्दाको सहभागितामा केन्द्रित रथयात्रालाई यस वर्ष नगरव्यापी बनाउने तयारी छ। आयोजकको दीर्घकालीन लक्ष्य भने यसलाई शिवगञ्ज र शिवसताक्षीको सीमाभन्दा बाहिर पुर्याउँदै झापाकै प्रमुख धार्मिक–सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्नु हो।
धार्मिक पर्वको महत्त्व पूजा र अनुष्ठानमा मात्र सीमित हुँदैन। समुदायलाई एक ठाउँमा ल्याउने, पुरानो पुस्ताले बोकेको संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्ने, फरक समुदायबीच परिचय र सम्मान बढाउने तथा स्थानीय ठाउँको पहिचान निर्माण गर्ने माध्यमका रूपमा पनि यस्ता उत्सवको भूमिका हुने गरेको वडा नम्बर ६ का अध्यक्ष मनोज कुलाल कार्कीले बताए । ‘शिवगञ्जको रथयात्राले ३ वर्षको छोटो अवधिमै बढाएको सहभागिताले त्यसको संकेत गरेको छ,’ खुलालले भने ।










