काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ।
एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री तथा आपत्कालीन पूर्वाधार निर्माणलगायतका कार्यमा सहयोग गरिनेछ।
एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला प्रभावित समुदायले सहयोगका लागि लामो समय पर्खन नसक्ने बताएका छन्। उनले बाढी प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग पुग्ने उल्लेख गरेका छन्।
एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा विकास साझेदारसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ।
यसैबीच, विपद्पछिको आवश्यकता मूल्याङ्कन, पुनःस्थापना योजना तथा सम्भावित पुनःनिर्माणका लागि थप १ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको एडिबीले जनाएको छ।
भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।










