|
718 SHARES |
बुटवल । लुम्बिनी प्रदेशमा गत साउन महिनामा भएका सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने ७ सय ११ जना घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार साउन महिनामा प्रदेशभर ४ सय १८ वटा सवारी दुर्घटना भएका छन्। तीमध्ये २ सय ८७ दुर्घटना तीव्र गतिका कारण भएका छन्।
प्रहरी तथ्यांकअनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको छ। त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७३ वटा दुर्घटना भएका छन्।
चालकको असक्षमता तथा लापरबाहीका कारण ३९, अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ६, छाडा चौपाया तथा जनावरका कारण ४, हतारमा बाटो काट्दा २ र अनावश्यक ओभरटेकका कारण एउटा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा २८ पुरुष र ७ महिला रहेका छन्। प्रहरीले तीव्र गति, मादक पदार्थ सेवन र चालकको लापरबाहीलाई दुर्घटना न्यूनीकरणका लागि प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।










