|
898 SHARES |
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिले निमन्त्रणा पठाएका छन्।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिए।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाएका हुन्। परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले बताए।
यद्यपि, सम्मेलनमा नेपालका तर्फबाट कुन तहको सहभागिता हुने भन्नेबारे निर्णय भइनसकेको ढकालले जानकारी दिए।
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।










